News श्रृजनशील, आरसी ३२ र रोयलको जित
गोलनेपाल

मेहेलकुना । आयोजक श्रृजनशील युवा क्लब, आरसी ३२ र रोयल एफसी जारी चन्द्र स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न क्वाटरफाइनल खेलहरुतर्फ श्रृजनशीलले लायन्स युवा क्लबमाथि ६–० को फराकिलो जित दर्ता गर्यो । श्रृजनशीलका लागि फागुराम थारुले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै थप दुई गोल विश्वास बिसी र प्रकाश बुढाले गरे ।

अर्को क्वाटरफाइनलमा आरसी ३२ ले बुद्धपथ स्पोर्टस क्लबलाई ३–१ ले पराजित गर्यो । आरसी ३२ को जितमा बबिन बोहराले दुई गोल गरे भने थप एक गोल रोहन कार्कीले गरे । उता पराजित बुद्धपथका लागि मनोज थापाले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यसैगरी बुधबार नै भएको अर्को क्वाटरफाइनलमा रोयलले गुर्भाकोट १२ माथि २–१ को रोमाञ्चक जित निकाल्यो । रोयलका लागि दुवै गोल भरत नगलले गरे । उता पराजित गुर्भाकोटका लागि निराजन शाहीले एक मात्र गोल फर्काएका थिए ।

बुधबार जित हात पारेका टोलीहरुले बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् ।

श्रृजनशील युवा क्लब, मेहेलकुनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले २ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ८ गतेका दिन हुनेछ ।

Post Comments