News फर्साटिकर फाइनलमा
सुरज राना मगर

देवीनगर । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी दोस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गैडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा राइजिङ स्टार एफसी, नवलपरासीलाई टाईब्रेकरमा हराउँदै फर्साटिकर उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने फर्साटिकरले ६–५ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा फर्साटिकरका गोलरक्षक शुभांकर जिसी म्यान अफ द म्याच घोषित भए । फर्साटिकरले अब उपाधिका लागि बैशाख ९ गते शनिबार गोलबजार एफसीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा–८, देवीनगरको आयोजना तथा गैडहवा गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments