News आयोजक माउण्ट स्टारलाई उपाधि
सुरज राना मगर

बुटवल । प्रथम माउण्ट स्टार कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक माउण्ट स्टार क्लब, बुटवलले नै जितेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा शिवपुर फुटबल क्लबलाई हराउँदै माउण्ट स्टार च्याम्पियन बनेको हो ।

नहरपुर माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा माउण्ट स्टारले शिवपुरलाई १–० ले हरायो । खेलको अन्तिमतिर सरोज दर्लामीले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

विजेता बनेको माउण्ट स्टारले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता शिवपुरले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । माउण्ट स्टार कै हिमाल कार्की उत्कृष्ट गोलरक्षक चुनिए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शिवपुरका अशोक सुनार घोषित भए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), आयोजक क्लबका अध्यक्ष सुमन गुरुङ, युवा समाजसेवी नकुल शाही, खेल संयोजक बिनोद गौतम लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

माउण्ट स्टार क्लब, बुटवल–११को आयोजना तथा गुड मर्निङ एफसी,, बुटवलको व्यवस्थापन र संयोजनमा भएको प्रतियोगितामा कुल ३५ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments