News मुर्गियालाई सैनामैना नगरस्तरीय फुटसल कपको उपाधि
सुरज राना मगर

मुर्गिया । प्रथम सैनामैना नगरस्तरीय फुटसल कपको उपाधि आयोजक मुर्गिया फुटबल क्लबले जितेको छ । रोमाञ्चक फाइनल भिडन्तमा शान्तिदिप युवा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै मुर्गिया च्याम्पियन बनेको हो ।

कृपा फुटसलमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल ५–५ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । जसमा मुर्गियाले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको मुर्गियाले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता शान्तिदिपले नगद २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मुर्गियाका निशान्त क्षेत्री घोषित भए भने उत्कृष्ट गोलरक्षक शान्तिदिपका अमित ठकुरी चुनिए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि शान्तिदिपका विकल केसीले हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी सैनामैना नगरपालिकाकी उपमेयर बिना राना, विशिष्ठ अतिथी सैनामैनाका पूर्व नगर प्रमुख चित्र बहादुर केसी, सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठ, मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारी लगायतले पुरस्कृत गरेका थिए ।

मुर्गिया फुटबल क्लबको आयोजना, सैनामैना नगरपालिका र नगर खेलकुद विकास समिति, सैनामैना, रुपन्देहीको विशेष सहयोगमा भएको दुई दिने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक राकेश गुरुङ्गले बताए । प्रतियोगितालाई आउने वर्षहरुमा पनि निरन्तरता दिंदै भव्यताका साथ सम्पन्न गर्ने योजना रहेको आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारीले बताए । साथै उनले सबै सहयोग संघसंस्था, शुभेच्छुकहरुलाई आभार र धन्यवाद समेत प्रकट गरे ।

Post Comments