News गोलबजारलाई गैडहवा अध्यक्ष कपको उपाधि
सुरज राना मगर

देवीनगर । दोस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गोलबजार फुटबल क्लब, सिरहाले जितेको छ । गैडहवा–८ स्थित देवीनगर खेलमैदानमा भएको फाइनल भिडन्तमा गोलबजारले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजेता बनेको हो ।

विजेता बनेको गोलबजारले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता फर्साटिकरले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

गोलबजारका सुजन पुलामी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ गोलबजार कै निश्चल मोक्तान उत्कृष्ट गोलरक्षक चुनिए भने उत्कृष्ट डिफेन्डर फर्साटिकरका बिशाल शाही घोषित भए ।

उत्कृष्ट मिडफिल्डर गोलबजारका बिशाल राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गोलबजारका बिनु आले मगरले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजारसहित ट्रफी प्राप्त गरे ।

न्यु एभरेष्ट युवा क्लब, मैनियाको आयोजना तथा गैडहवा गाउँपलिका बिष्णुपुरा–३, रुपन्देहीको संरक्षकत्वमा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments