News आयोजक इभोलुशन उपाधि नजिक
सुरज राना मगर

बुटवल । संघर्षपुर्ण जितका साथ आयोजक इभोलुशन क्लब अफ बुटवल यहाँ जारी इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा इभोलुशनले मुर्गिया फुटबल क्लब, सैनामैनालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने इभोलुशनले नतिजा ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक इभोलुशनले हार नजिक पुगेर पनि खेलमा रोमाञ्चक पूनःरागमन गर्यो ।

खेलको १३औं मिनट मै सरोज दर्लामीको गोलबाट मुर्गियाले खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलको अन्तिमतिर ७६औं मिनटमा बिशाल शाहीले सटिक हेड गोल गर्दै इभोलुशनलाई खेलमा फर्काएका थिए । मंगलबारको खेलमा इभोलुशनका बिशाल शाही नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बैशाख २० गते बुधबारको दोस्रो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र फर्साटिकर युवा क्लब, फर्साटिकरबीच हुने आयोजकले जानकारी दियो ।

इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २२ गतेका दिन हुनेछ ।

Post Comments