News लिस्नु फाइनलमा, उपाधिका लागि आयोजक इभोलुशनसँग भिड्ने
सुरज राना मगर

बुटवल । संघर्षपुर्ण जितका साथ लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा लिस्नुले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई टाईब्रेकरमा हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

बुटवल–१२, तामनगर स्थित चारपाला खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको नवौं मिनट मै विपक्षी रक्षकको गल्तीको फाईदा उठाउँदा लिस्नुका लागि हिमाल थापाले पहिलो गोल गरेका थिए । ५३औं मिनटमा हिमाल थापाले नै लिस्नुको त्यो अग्रता दोब्बर पारे ।

तर फर्साटिकरले खेलमा रोमाञ्चक पूनःरागमन गर्यो । ५८औं मिनटमा टिकाराज गुरुङले फर्साटिकरका लागि पहिलो गोल गरे भने ६५औं मिनटमा सन्दिप श्रेष्ठले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने लिस्नुले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका लिस्नुका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए । अब लिस्नुले फाइनलमा बैशाख २२ गतेका दिन आयोजक इभोलुशन क्लब अफ बुटवलसँग उपाधिका लागि भिड्ने छ ।

इभोलुशन क्लब अफ बुटवल, तामनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष हिरा कुमारी तरामुले जानकारी दिईन् । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष तरामुले बताईन् ।

Post Comments