News सैनामैना वडा कप शुरु, वडा नम्बर ४ को विजयी शुरुवात
सुरज राना मगर

मुर्गिया । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सैनामैना नगर खेलकुद समिति, रुपन्देहीको आयोजनामा यही बैशाख २३ गतेदेखि सैनामैना वडा कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा वडा नम्बर ४ ले विजयी शुरुवात गर्यो । मुर्गिया फुटबल ग्राउण्डमा सम्पन्न उद्घाटन खेलमा वडा नम्बर ४ ले वडा नम्बर ९ लाई शून्यका विरुद्ध एक गोलले हराउँदै विजयी शुरुवात गरेको हो । वडा नम्बर ४ का लागि निशान्त क्षेत्रीले गरेको एक मात्र गोल निर्णायक बन्यो । क्षेत्री नै खेलको म्यान अफ द म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच सैनामैना–४ का अध्यक्ष राम प्रसाद अधिकारी, वडा नम्बर ९ का अध्यक्ष बिष्णु पाण्डे, वडा नम्बर ७ का अध्यक्ष राजु चौधरी, सैनामैना नगर खेलकुद समितिका अध्यक्ष खिम श्रेष्ठ, सदस्य ममता बुढाथोकी, श्री दर्लामी लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

यही बैशाख २९ गतेसम्म चल्ने प्रतियोगितामा सैनामैना नगरका कुल ११ टोलीहरले सहभागिता जनाएको खेल संयोजक सन्तोष मल्लले जानकारी दिए । सैनामैना नगरपालिका, रुपन्देहीको विशेष सहयोग रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्ने संयोजक मल्लले बताए ।

Post Comments