News अन्जिलाको सेथु र सरुको किकस्टार्टको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । इण्डियन वुमन्स लिगतर्फ एउटै समूहमा दुई फरक क्लबबाट खेलिरहेका नेपालका चर्चित महिला फुटबल खेलाडीहरु अन्जिला तुम्बापो सुब्बा, सरु लिम्बु र रेनुका नगरकोटीले आ–आफ्नो क्लबमा उत्कृष्ट जितको लयलाई कायम राखेका छन् । अन्जिला आवद्ध सेथु एफसी र सरु तथा रेनुका आवद्ध किकस्टार्ट एफसीले लिगतर्फ आइतबार समान अन्तरको जित हात पारेका छन् ।

समूह बी तर्फ अन्जिलाको टोली सेथुले सैन्ट्रल रिजर्भ पुलिस फोर्स क्लब र सरुको टोली किकस्टार्टले सेल्टिक क्वीन्स एफसीमाथि समान ५–० अन्तरको जित हात पारेका हुन् । सेथुका लागि अन्जिलाले पहिलो रोजाई मै रहेर खेले तापनि ७३औं मिनटमा वैकल्पिक खेलाडीका रुपमा मैदान बाहिरिएकी थिईन् ।

त्यस्तै किकस्टार्टको जितमा सरु लिम्बुले पनि गोल गरिन् । उता रेनुका नगरकोटीले भने दोस्रो हाफको शुरुवाती मिनट मै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी थिईन् ।

आइतबार नै सम्पन्न समूह बी तर्फको अन्य खेलहरुमा ओडिसा एफसीले अनिता बस्नेतको टोली लर्डस एफए विरुद्ध ५–० को जित निकाल्यो भने इष्टर्न स्र्पोटिङ युनियनले चर्चिल ब्रदर्श एफसीलाई ४–१ ले हरायो ।

आइतबारको नतिजापछि शतप्रतिशत जितका साथ अन्जिलाको टोली सेथु १५ अंकका साथ शिर्ष स्थानमा छ । १२–१२ अंक जोडेका ओडिसा र किकस्टार्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अनिताको टोली लर्डस एफए भने ३ अंकका साथ छैठौं स्थानमा छ । अंकविहीन चर्चिल ब्रदर्श पुछारमा छ ।

लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभागजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments