News हिमालयन कप शुरु, स्कलर्स होमको विजयी शुरुवात
सुरज राना मगर

कञ्चन । बिहीबारदेखि शुरु ११औं हिमालयन कप नकआउट फुटबल प्रतियोगितामा स्कलर्स होम एकेडेमीले विजयी शुरुवात गरेको छ ।

कञ्चन गाउँपालिका–४ दियो बजार स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा स्कलर्सले घरेलु टोली कञ्चन–११ लाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यो जितसँगै स्कलर्स होम प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत फागुन २ गते शुक्रबारको खेल मुर्गिया एफसी, रुपन्देही र थ्री ब्रदर्श नवलपरासी युनाइटेडबीच हुने खेल संयोजक टिका थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका – ४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल यहि फागुन ९ गतेका दिन हुनेछ ।

 

Post Comments