
काठमाडौं । हिमालयन शेर्पा क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा जितका साथ सिजनको समापन गरेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा शेर्पाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै न्युरोडटिम (एनआरटी) लाई २–१ ले हरायो ।
एन्फा कम्प्लेक्समा भएको खेलको ३१औं मिनटमा राजेश परियारको गोलबाट एनआरटीले खेलमा अग्रता बनाएको थियो । यद्यपि एनआरटीले पहिलो हाफ मै दुई गोल खान पुग्यो र हार स्वीकार्न बाध्य भयो ।
४१औं मिनटमा स्टेफनले शेर्पाका लागि बराबरी गोल फर्काए भने पहिलो हाफ कै इन्जुरी समयमा त्रिदेव गुरुङले शेर्पाका लागि दोस्रो गोल फर्काउँदै टोलीको जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच पनि गुरुङ नै बने ।
यो जितपछि १३ खेलबाट १४ अंक जोडेको शेर्पा लिगतालिकाको दशौं स्थानमा रहँदै सिजनको समापन गरेको छ । उता पराजित एनआरटी भने १५ अंकका साथ आठौं स्थानमा रहन सफल भएको छ ।