News न्यू स्टार गोल्डकपको फाइनलमा आयोजक र मोरङ भिड्दै
रमेश समदर्शी

मोरङको जनसहयोग युवा क्लब झापाको बिर्तामोडमा आयोजित तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपमा आज आयोजकसँग फाइनल भिडन्त गर्दैछ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज दिउँसो फाइनल भिडन्त हुँदैछ ।

सुनसरीको बराहक्षेत्र ११ लाई १-० गोलले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको थियो । उपाधि होडमा रहेको मोरङका लागि सुबास तामाङले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । ८० मिनेटको खेलमा २ मिनेट इन्जुरी समय थप गरिएको थियो । तर, खेल सकिन केही सेकेन्ड बाँकी रहँदा सुबासले आकर्षक गोल गरेर टिमलाई फाइनलमा पुराएका हुन् । यसैगरी, इलामको रेडहर्ष एफसीलाई १-० गोलले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको थियो ।

उपाधिको दाबेदार मानिएको इलामलाई रोक्न विश्वास लावतीको एक गोल नै निर्णायक बनेको हो । जितसँगै मोरङ र आयोजकले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ ।

फाइनल उपाधि भिडन्तको विजेताले नगद २ लाख र आकर्षक ट्रफी पाउने छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । ् गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।

गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments