News चर्च ब्वाईजलाई चार अंकको स्पष्ट अग्रता
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा यसै सिजन बढुवा भएर राम्रो प्रदर्शन गरिरहेको चर्च ब्वाईज युनाइटेडले लिगतालिकामा चार अंकको स्पष्ट अग्रता बनाएको छ ।

दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु भएको खेलमा चर्च ब्वाईजले विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को साँघुरो जित निकाल्दै महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा मिलन राईले गरेको एक मात्र गोल चर्च ब्वाईजलाई जित दिलाउन निर्णायक बन्यो ।

यो नतिजापछि १९ खेलबाट ३६ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा छ । र दोस्रो स्थानको टोली जावलाखेल भन्दा चार अंकले अगाडी छ । पराजित पुलिस भने २२ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा छ ।

शेर्पाको जित, आर्मीको बराबरी

त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स मै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपिएफ फुटबल क्लबमाथि ३–२ को जित निकाल्यो । खेलको सातौं मिनट मै खामिर गिल्सन कान्दङ्वाको गोलबाट शेर्पाले खेलमा अग्रता बनाएको थियो । १८औं मिनटमा पिस्टन मुटाम्बाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा आबायोमी फाकुन्लेले शेर्पाका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

उता खेलको अन्तिमतिर ८७औं मिनटमा सनिस श्रेष्ठ र इन्जुरी समयमा युवराज खड्काले एपिएफका लागि दुई गोल फर्काए पनि टोलीको हार टार्न अबेर भईसकेको थियो । यो जितपछि २५ अंक जोडेको शेर्पा सातौं स्थानमा उक्लेको छ । पराजित एपिएफ भने २२ अंकका साथ दशौं स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले दुईप्टकको अग्रता जोगाउन नसक्दा पुछारको टोली एफसी खुमलटारसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको छ ।

खेलको १४औं मिनटमा जगदित श्रेष्ठको गोलबाट आर्मीले खेलमा अग्रता बनाएको थियो । तर ३५औं मिनटमा मेसुके ओलुमुले खुमलटारका लागि पहिलो बराबरी गोल फर्काउन सफल भए । त्यस्तै ५१औं मिनटमा नवयुग श्रेष्ठले आर्मीलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि आर्मीले जोगाउन सकेन । ७४औं मिनटमा स्टेफन बिनोङले खुमलटारका लागि दोस्रो बराबरी गोल गर्दै खेललाई २–२ को रोमाञ्चक स्थितिमा ल्याएका थिए ।

यो नतिजापछि आर्मी १९ खेलबाट २६ अंकका साथ लिगतालिकाको छैठौं स्थानमा छ । उता खुमलटार भने १८ अंकका साथ पुछार मै संघर्षरत छ ।

Post Comments