News सलहेश नवौं भलुवा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । रोमाञ्चक जितका साथ सलहेश युवा क्लब, सिराहा जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ सलहेशले मनोहरा एफसी, काठमाडौंलाई ४–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

भलुवा फुटबल मैदानमा भएको खेलको ३७औं मिनटमा तिर्थ बस्नेतको गोलबाट मनोहराले खेलमा अग्रता बनाएको थियो । तर ४६औं मिनटमा सुजन पुलामीले सलहेशका लागि बराबरी गोल फर्काए । त्यस्तै ५१औं मिनटमा यो नेपोलियमले पेनाल्टीबाट सलहेशका लागि दोस्रो गोल गरे । ५७औं मिनटमा नेपोलियमले नै व्यक्तिगत दोस्रो तथा सलहेशका लागि तेस्रो गोल थपे ।

त्यस्तै ७६औं मिनटमा सुजन पुलामीले व्यक्तिगत दोस्रो तथा सलहेशका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरेका थिए । उता पराजित मनोहराका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा डेडीले एक गोल फर्काए तापनि टोलीलाई हारबाट भने जोगाउन सकेनन् ।

खेलमा दुई गोल गरेका सलहेशका सुजन पुलामी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत जेठ १६ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल झापा–११, झापा र ब्वाईज एफसी, इटहरीबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।

 

Post Comments