News नेपाल र फिलिपिन्स बीच हुने म्याचको खेलस्थल टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं । फिफाको इन्टरनेशनल विन्डोतर्फ नेपाल र फिलिपिन्सबीच यही जुन १५ तारीखका दिन हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचको खेलस्थल टुंगो लागेको छ । फिलिपिन्स एफएले आफ्नो आधिकारिक पेजमार्फत उक्त मैत्रीपूर्ण फुटबल म्याचको खेलस्थतलबारे पनि जानकारी गराएको हो ।

जस अनुसार नेपाल र फिलिपिन्स बीचको खेल रिजाल मेमोरियल स्टेडियममा हुने भएको छ । सन् १९५४ मा एसियन गेम्सको मुख्य स्टेडियमका रुपमा प्रयोग भएको यो रिजाल मेमोरियल स्टेडियममा साथइष्ट एसियन गेम्सका खेलहरु पनि आयोजना भईसकेका छन् ।

फिलिपिन्स एफएका अनुसार नेपालसँगको खेलपश्चात १९ जुनका दिन सोही मैदानमा फिलिपिन्स र चाइनिज ताइपेई भिड्ने कार्यक्रम समेत छ ।

स्मरण रहोस, नेपाल आउँदो जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुन गईरहेको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपको तयारीमा छ । प्रतियोगिता अन्तरगत समूह ए मा रहेको नेपालले आयोजक तथा साविक विजेता भारतसँगै बलियो कुवेत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Post Comments