News फुलबारी गाईजलाई वार्ड अध्यक्ष कपको उपाधि
सुरज राना मगर

भलुही । प्रथम वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि फुलबारी गाईज, बुटवलले जितेको छ । मंगलबार सम्पन्न फाइनलमा फुलबारीले सिद्धार्थ एफसी, खैरेनीलाई टाईब्रेकरमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

बयरडाँडा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा भने फुलबारीले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्दै विजेता बन्न सफल भएको थियो ।

विजेता बनेको फुलबारीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता सिद्धार्थले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

सिद्धार्थका सुजन गुरुङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । फुलबारीका सिर्जन श्रेष्ठ उत्कृष्ट गोलरक्षक बन्दा फुलबारी कै अनिल क्षेत्री उत्कृष्ट डिफेन्डर बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि फुलबारीका शरद क्षेत्रीले हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सिद्धार्थका देव दर्लामी घोषित भए ।

भेट्रानतर्फ भूपू सैनिकलाई उपाधि

त्यस्तै भेट्रानतर्फको उपाधि भूपू सैनिक टोल विकास संस्थाले हात पार्यो । फाइनलमा भूपू सैनिकले आयोजक बुद्ध स्पोर्टस भेट्रान्सलाई २–१ ले हराउँदै विजेता बनेको हो ।

विजयी खेलाडीहरुलई समापन कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिका वार्ड नम्बर १० का वार्ड अध्यक्ष यक बहादुर सुनार, विशिष्ठ अतिथी हिरा बहादुर खत्री र आयोजक बुद्ध स्पोर्टस क्लबका अध्यक्ष दुध बहादुर पुनले पुरस्कृत गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष पुनले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबै सहयोगीदाता तथा शुभेच्छुकहरुलाई धन्यवाद र आभार प्रकट गरे ।

Post Comments