
काठमाडौं (एजेन्सी) । पाँच पल्टको विजेता ब्राजील जारी फिफा यु–२० विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिबार राती सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजीलले इजरायलसँग ३–२ को हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा ब्राजील निराश बन्न पुग्यो । खेलको ५६औं मिनटमा मार्कस लियोनार्डोको गोलबाट ब्राजीलले खेलमा अग्रता बनाएको थियो । यद्यपिको चार मिनट लगतै अनान खलैलीले इजरायलका लागि बराबरी गोल फर्काएका थिए ।
निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि अतिरक्त समयको पहिलो मिनट मै म्याथ्युज नासिमैन्टोले ब्राजीललाई दोस्रोपटक खेलमा अग्रता दिलाए । तर त्यसको दुई मिनट लगतै हम्जा शिव्लीले इजरायलका लागि दोस्रो बराबरी गोल फर्काए ।
रोमाञ्चक बराबरीतर्फ लम्किरहेका बेला खेलको १०५+३औं मिनटमा डोर टुर्गेमानले तेस्रो तथा निर्णायक गोल गर्दै इजरायललाई रोमाञ्चक जित दिलाएका थिए । इजरायलले सेमिफाइनलमा चौथो क्वाटरफाइनलतर्फ अमेरिका र उरुग्वे बीचको विजेतासँग खेल्नेछ ।
दोस्रो क्वाटरफाइनलमा इटाली विजयी
त्यस्तै सान जुआन मै भएको दोस्रो क्वाटरफाइनलमा इटालीले अर्को दक्षिण अमेरिकी टोली कोलम्बियामाथि ३–१ को जित निकाल्यो र अन्तिम चारमा स्थान पक्का गर्यो ।
खेलको नवौं मिनटमै सिजरे कासाडेइको गोलबाट इटालीले खेलमा शुरुवाती अग्रता लिएको थियो । ३८औं मिनटमा टोमासो बल्डान्जीले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ४६औं मिनटमा फ्रान्सेस्को इस्पोसिटोले इटालीका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
उता कोलम्बियाका लागि ४९औं मिनटमा झोजन टोरेसले एक गोल फर्काए तापनि पर्याप्त बनेन । इटालीले सेमिफाइनलमा तेस्रो क्वाटरफाइनलतर्फ दक्षिण कोरिया र नाइजेरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।