News शानदार जितका साथ रड्स रामपुर सेमिफाइनलमा
सुरज राना मगर

तानसेन । विकी चाम्लिङ राई एक्लैले पाँच गोल गरेपछि शानदार जितका साथ रड्स रामपुर एफसी, चितवन यहाँ जारी कर्णेल उजिर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलमा रड्स रामपुरले बिर गोर्खाली एफसी, लखनउ, भारतलाई ५–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

टुंडिखेल मैदानमा भएको खेलमा रड्स रामपुरका लागि खेलका पाँचौं मिनटमै बिकी राईले पहिलो गोल गरेका थिए । त्यस्तै ७२ र ७७औं मिनटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए भने ७९ र ८३औं मिनटमा थप दुई गोल गर्दै रड्स रामपुरको जितमा नायक बनेका थिए । उता पराजित बिर गोर्खालीका लागि ८२औं मिनटमा बिजय गुरुङले एक मात्र सान्त्व्ना गोल फर्काएका थिए ।

आइतबार प्रतियोगिता कै पहिलो ह्याट्रिकसहित पाँच गोल गरेका रड्स रामपुरका विकी चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । प्रतियोगिता अन्तरगत जेठ २२ गते सोमबारको अन्तिम क्वाटरफाइनल खेल स्वयम्भु एफसी, काठमाडौं र नेपाली सेनाको द फेमस महिन्द्र दल गणबीच हुने खेल संयोजक करन चित्रकारले जानकारी दिए ।

पाल्पा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २७ गतेका दिन हुने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय जंग राणाले जानकारी दिए ।

 

Post Comments