News संकटालाई राहत, मच्छिन्द्रलाई झट्का, खुमलटार र फ्रेण्डस थप दबाबमा
गोलनेपाल

काठमाडौं । रेलिगेशनको त्रास रहेको संकटा क्लबलाई लिगको २४औं चरणको खेलमा महत्वपूर्ण जित र राहत मिलेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले पुछारको टोली एफसी खुमलटारमाथि ३–० को जित निकाल्यो ।

खेलको १६औं मिनटमा निशान खड्काले संकटाका लागि पहिलो गोल गरे भने ३८औं मिनटमा आयुष घलानले दोस्रो गोल थपेका थिए । त्यस्तै दोस्रो हाफको ७८औं मिनटमा चन्दन कुमार दासले तेस्रो गोल गर्दै संकटाको सिजनको सातौं जित पक्का गरेका थिए ।

यो जितपछि २४ खेलबाट ३० अंक जोडेको संकटा ११औं स्थानमा उक्लेको छ । उता पराजित खुमलटार २४ अंकका साथ पुछार मै छ । र, क्लबमाथि रेलिगेशनको दबाब थप थपिएको छ ।

मच्छिन्द्रको हार, मनाङ रोकियो, एनआरटी र शेर्पाको बराबरी

त्यस्तै लिग उपाधि होडमा रहेको साविक विजेता मच्छिन्द्र फुटबल क्लबलाई भने आइतबार झट्का लागेको छ । उपाधि होड कायम राख्न जित्नै पर्ने खेलमा मच्छिन्द्र विभागीय टोली नेपाल पुलिस क्लबसँग १–२ ले पराजित हुन पुग्यो ।

च्यासल स्टेडियममा भएको खेलको २७औं मिनटमा आफिज ओलावालेको गोलबाट मच्छिन्द्रले शुरुवाती अग्रता बनाए पनि दोस्रो हाफको अन्तिमतिर त्यो अग्रता गुमाउन पुगेको थियो । मोसेज ट्वुमले ७४ र ८४औं मिनटमा लगातार दुई गोल गर्दे पुलिसको सनसनीपूर्ण जित पक्का गरेका थिए ।

यो हारपछि २४ खेलबाट ३९ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको दोस्रो स्थानमा यथावत छ । यद्यपि लिगलिडर चर्च ब्वाईज भन्दा पाँच अंकले पछाडी परेको छ । साथै यो नतिजाले चर्च ब्वाईजको लिग उपाधि होड थप बलियो बनेको छ । उता पुलिस भने ३७ अंकका साथ चौथो स्थानमा छ र तेस्रो स्थानको टोली जावलाखेलसँग अंक बराबरी गरेको छ ।

त्यसैगरी दशरथ रंगशालामा भएको खेलमा एनआरटी र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ५२औं मिनटमा दिवस उरावको गोलबाट अग्रता लिएको शेर्पाले त्यो अग्रता दुई मिनट मै गुमाउन पुगेको थियो । एनआरटीका लागि ५४औं मिनटमा दिपेश आले मगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि २४ खेलबाट ३० अंक जोडेको एनआरटी दशौं स्थानमा छ । उता हिमालयन शेर्पा भने ३१ अंकका साथ सातौं स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको चौथो तथा अन्तिम खेलमा रेलिगेशन क्षेत्रमा संघर्षरत फ्रेण्डस क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।

खेलको ५१औं मिनटमा निराजन धामीको गोलबाट मनाङले अग्रता लिए पनि अन्तिम समयमा त्यो अग्रता गुमाउन पुग्यो । खेलको अन्तिमतिर ८६औं मिनटमा फ्रेण्डसका लागि अमित तामाङले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

यो बराबरी नतिजाका बावजुद २४ खेलबाट २६ अंक जोडेको फ्रेण्डस रेलिगेशन क्षेत्र कै १३औं स्थानमा संघर्षरत छ । उता मनाङ भने ३२ अंकका साथ छैठौं स्थानमा छ ।

Post Comments