News एन्फा सदस्य अधिकारीको सुझावः महिला विश्वकप हेर्न महिला खेलाडी र प्रशिक्षकलाई नै पठाऔं
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यशैलीप्रति निरन्तर आवाज उठाउँदै आइरहेका एन्फा कै कार्यसमिति सदस्य रुपेश अधिकारीले यसै वर्ष अष्ट्रेलिया र न्युजिल्याण्डमा हुन गईरहेको फिफा महिला विश्वकपमा नेपालका महिला खेलाडी र प्रशिक्षकलाई नै पठाउन सुझाएका छन् ।

अधिकारीले एक विज्ञप्ती जारी गर्दै एन्फाको यही जेठ २० गते सम्पन्न आपतकालिन बैठकबाट एन्फालाई प्राप्त भएको महिला विश्वकपको टिकट वितरण र मापदण्डबारे उनले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

अधिकारीले विश्वकप हेर्ने सबैको अधिकार भए तापनि महिला फुटबल खेलाडी तथा प्रशिक्षकहरुलाई यो अवसर अझ महत्वपूर्ण रहेको चर्चा गरेका छन् । विश्वकपको प्रत्यक्ष अवलोकनले खेलाडी तथा प्रशिक्षकहरुले प्राविधिक तथा व्यवसायीक ज्ञान हासिल गर्नुका साथै यसले क्षमता अभिवृद्धि गर्न पनि सहयोग पुग्ने उनको बझाई छ ।

अधिकारीले आफ्नो कोटा अन्तरगत परेको ६ वटा टिकट इच्छुक महिला फुटबल खेलाडी तथा प्रशिक्षकहरुलाई उपलब्ध गराईदिन अनुरोध पनि गरेका छन् ।

साथै उनले पत्रमा गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा पनि कुनै खेलाडी तथा प्रशिक्षकहरुलाई अवलोकन गर्ने अवसर नदिइएकोमा खेद् समेत प्रकट गरेका छन् ।

त्यति मात्र नभएर उनले गत वर्ष पौष १० गतेका दिन कतार विश्वकपको टिकट वितरणमा भएको अनियतिताबारे एन्फासँग ४ बुँदे पत्रसहित मौखिक र लिखित जवाफ मागेको र त्यसको जवाफ अहिलेसम्म पनि प्राप्त नभएकोले त्यसबारे पनि जानकारी गराईदिन उनले एन्फासमक्ष माग गरेका छन् ।

Post Comments