News एएफसी यु–२० एसियन कप छनौटः तीन खेलमा १५ गोलको भारी
गोलनेपाल

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनौटको पहिलो चरणतर्फ गत मार्चमा प्यालेस्टाईनमा सम्पन्न प्रतियोगितामा नेपालले घरेलु टोली प्यालेस्टाईन र नर्दन मारियाना आइल्याण्डसलाई समान ६–० को अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो ।

तर शनिबार मात्र म्यानमारमा सम्पन्न दोस्रो चरणको छनौट प्रतियोगितामा नेपालले उस्तै किसिमको नतिजा दोहोर्याए पनि परिणाम भने फरक हुन पुग्यो । दोस्रो चरणको छनौट प्रतियोगिता अन्तरगत समूह बी मा परेको नेपालले आयोजक म्यानमार, चीन र चाइनिज ताइपेई विरुद्ध समान ५–० को हार बेहोर्यो र समग्रमा विपक्षी विरुद्ध एउटै गोल नगरी १५ गोल खान पुग्यो ।

पहिलो चरणमा नेपालले गरेको प्रदर्शनलाई म्यानमारमा भने दोहोर्याउन सकेन । फलत समूहको पुछारमा रहेर दोस्रो चरणको छनौट प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।

समूह बी बाट शतप्रतिशत जित निकालेको चीन समुह विजेता र चाइनिज ताइपेई समूह उपविजेताका रुपमा अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट भए । ताइपेई र म्यानमारको समान ४–४ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा ताइपेई भाग्यमानी बन्यो ।

अंकविहीन निरीह नेपाल भने गोलको भारी बोक्दै पुछारमा रहेर प्रतियोगिताको समापन गर्यो । त्यस्तै समूह ए बाट अष्ट्रेलिया र भियतनामले एएफसी यु–२० एसियन कपमा स्थान बनाउन सफल भए । इराम र लेबनान भने समूह चरणबाटै बाहिरिए ।

Post Comments