News बाहुनडाँगीलाई प्रविण ग्वाल स्मृति फुटबलको उपाधि
रमेश समदर्शी

बाहुनडाँगीको डिएफसीले यहाँ आयोजित प्रथम स्व. प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । सडनडेथमा आयोजक लायन एफसीलाई पराजित गर्दै बाहुनडाँगीले उपाधि जितेको हो ।

शनिबार भएको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २-२ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान ३-३ गोल भएपछि खेलको निर्णय सडनडेथबाट भएको हो । सडनडेथमा बाहुनडाँगीले ८-७ गोलअन्तरले बाजी मार्यो । खेलको ९ मिनेटमै आयोजकका सन्देश खवासले गोल गर्दै अग्रता दिलाएका थिए । तर, २६औँ मिनेटमा बाहुनडाँगीका रिखी श्रेष्ठले गोल गर्दै बराबरीमा ल्याए । बाहुनडाँगीकै अस्मित मगरले आत्मघाती गोलको उपहार आयोजकलाई दिँदा २-१ गोलले पछि परेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा बाहुनडाँगीका पुजन राईले आकर्षक गोल गर्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलको म्यान अफ दी म्याच आयोजकका सेवन मगर भए । यस्तै, प्लेयर अफ दी टुर्नामेन्ट आयोजकका अभिनाष चौधरी, बेस्ट फरवार्ड सन्देश खवास, बेस्ट मिडफिल्डर रोमन भुजेल भए भने बेस्ट डिफेन्डर बाहुनडाँगीका रविन मगर र बेस्ट गोलकिपर रोमन क्षेत्री भए । स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी थिए ।

प्रतियोगिताको विजेता बाहुनडाँगी डिएफसीलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष डिके धिमाल, रेफ्री संघका प्रदेश महासचिव प्रदिप बस्नेत, फुटबल प्रशिक्षक सचिन्द्र धिमाललगायतले नगद ३० हजार र ट्रफी प्रदान गरे । यस्तै, उपविजेता आयोजक टिमले नगद २० हजारसँगै ट्रफीमा चित्त बुझाएको छ ।

Post Comments