News कोशी प्रदेश तेस्रो मुख्यमन्त्री कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

सिद्धिचरण । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ सिद्धिचरण नगरपालिका, ओखलढुंगामा शुरु हुन गईरहेको कोशी प्रदेशस्तरीय तेस्रो मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, मोरङ, बिराटनगरको आयोजनामा असार ४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सिद्धिचरण नगरपालिका, ओखलढुङगामा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा बिहान ८ बजे घरेलु टोली ओखलढुंगा र सोलुखुम्बु भिड्ने छन् । त्यस्तै दिनको दोस्रो खेलमा दिउँसो २ बजे मोरङ र उदयपुर भिड्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ र फेयर प्ले टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति, ओखलढुंगाको संयोजन रहेको प्रतियोगितामा कोशी प्रदेशका कुल १४ जिल्लाका टोलीहरुले सहभागिता जनाएका छन् । फाइनल खेल असार ९ गतेका दिन हुनेछ ।

Post Comments