News लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा शनिबार लगातार दोस्रो हार बेहोरेपछि नेपालको सेमिफाइनल पुग्ने झिनो आशा पनि समाप्त भएको छ । शनिबार भारत विरुद्ध निर्णायक मानिएको खेलमा नेपालले ०–२ को हार बेहोर्न पुग्यो ।

बैंगलोर स्थित श्री कान्तिरभा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित खेले तापनि दोस्रो हाफतर्फ नेपालले दश मिनटको अन्तरालमा दुई गोल खान पुग्यो । ६२औं मिनटमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने ७०औं मिनटमा महेश सिंहले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

शनिबारको नतिजापछि समूह ए बाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् भने नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका छन् । स्मरण रहोस, शनिबार नै भएको पहिलो खेलमा कुवेतले पाकिस्तानमाथि ४–० को जित निकालेको थियो ।

दुई खेलबाट ६–६ अंक जोडेका कुवेत र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यद्यपि यी दुई टोली मंगलबार हुने समूह चरणको अन्तिम खेलमा आमने सामने हुनेछन् । र यी दुई टोलीबीचको खेलको नतिजाले समूह ए को विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

त्यस्तै अंकविहीन नेपाल र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छ । साथै यी दुई टोली पनि मंगलबार नै एक आपसमा भिड्ने छन् । र यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।

Post Comments