News इलामलाई मुख्यमन्त्री कपको उपाधि
गोलनेपाल

सिद्धिचरण । उत्कृष्ट जितका साथ कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इलामले जितेको छ । फाइनलमा संखुवासभालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै इलाम च्याम्पियन बनेको हो ।

इलामको जितमा खेलको ५९औं मिनटमा बिशाल तामाङले पहिलो गोल गरे । ७९औं मिनटमा युवराज राईले दोस्रो गोल थप्दा ८४औं मिनटमा बिनोद धमलाले तेस्रो गोल गर्दै इलामको जित पक्का गरेका थिए ।

विजेता बनेको इलामले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता संखुवाभाले १ लाखमा चित्त बुझाउन बाध्य बन्यो । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सिद्धिचरण नगरपालिका, ओखलढुंगाका मेयर तेजेन्द्र खनाल लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

इलामका बिशाल सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ इलामका बिशाल तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । फाइनल खेलको म्यान अफ द म्याच इलामका पिकेश लोक्तम घोषित भए । त्यसवापत उनले नगद ४ हजार र ट्रफी हात पारे ।

उत्कृष्ट गोलरक्षक इलामका मौसम मगर बन्दा उत्कृष्ट डिफेन्डर पनि इलाम कै आयुष तिमिल्सिना चुनिए । उत्कृष्ट मिडफिल्डर संखुवासभाका प्रशु राई बन्दा उत्कृष्ट फरवार्ड पनि संखुवासभाका मन्दिप राई घोषित भए ।

उत्कृष्ट प्रशिक्षक इलामका छिरिङ पासाङ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार ओखलढुंगाका संजय गुरुङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५५ सय र ट्रफी हात पारे ।

प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेशका कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments