News दशकपछि बंगलादेश साफको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । बंगलादेश जारी बंगबन्धु साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । बुधबार भएको समूह बी तर्फको अन्तिम तथा महत्वपूर्ण खेलमा बंगलादेशले भुटानमाथि ३–१ को प्रभावशाली जित निकाल्दै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो ।

श्री कान्तिरभा स्टेडियममा भएको खेलको १२औं मिनटमा छेलथ्रिम नामगेलको उत्कृष्ट गोलको सहयोगमा भुटानले सनसनीपुर्ण अग्रता बनाएको थियो । तर बंगलादेशले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो । २२औं मिनटमा शेख मोर्सालिनले बंगलादेशका लागि बराबरी गोल फर्काए ।

३१औं मिनटमा फुन्सो जिग्मेले आत्मघाती गोल गर्दा बंगलादेशले २–१ को अग्रता बनाउन सफल भएको थियो । त्यसको पाँच मिनट लगतै रकिब होसेनले बंगलादेशका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरेका थिए । भुटानले पनि राम्रो प्रदर्शन गर्दै खेलमा फर्कने प्रयास गरेको थियो तर सफल हुन सकेन ।

समूह बी बाट तीन खेलबाट ९ अंक जोडेको लेबनान समूह विजेता बन्दा ६ अंक जोडेको बंगलादेश समूह उपविजेता बन्न सफल भयो । स्मरण रहोस, बंगलादेश १४ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि बंगलादेशले सन् २००९ मा घरेलु मैदान मै भएको आठौं संस्करणको साफतर्फ अन्तिम चारको यात्रा तय गर्न सफल भएको थियो ।

त्यसैगरी बुधबार नै लेबनानसँग १–० पराजित हुन पुगेको माल्दिभ्स ३ अंकका साथ समूह बी को तेस्रो स्थानमा रहँदा अंकविहीन भुटान भने चौथो स्थानमा रहेर समूह चरणबाट बाहिरिन बाध्य बने ।

अब जुलाई १ तारीख शनिबारका दिन हुने सेमिफाइनलतर्फ बंगलादेशले समूह ए को विजेता कुवेतको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा भारतले समूह बी को विजेता लेबनानसँग खेल्नेछ ।

Post Comments