News झापाः जलथल एफसी ढडुवा कपको फाइनलमा
रमेश समदर्शी

जलथल एफसी झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पञ्चायत माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा गोलधाप एफसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै जलथले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । जलथलका लागि खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णाक बन्यो ।

खेलको सुरुवातीमै जलथलले आक्रामक खेल पस्केको थियो । प्रतिस्पर्धात्मक खेलमा गोलधापले पाएको थुप्रै अवसर खेर गएको थियो । खेल सकिन ५ मिनेट बाँकी रहँदा दायाँ क्षेत्रबाट आएको पासलाई खमिर गिल्सनले गोलमा परिणत गराएका थिए । उनी म्यान अफ दी म्याच बने ।

जितसँगै जलथलले बिर्तामोडस्थित खोपबाडीको न्यू स्टार एफसीसँग फाइनल भेट पक्का गरेको छ । हल्दिबारी ३ को ढडुवा एफसीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।

Post Comments