News झापाः जलथल एफसीलाई ढडुवा कपको उपाधि
रमेश समदर्शी

प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जलथल एफसीले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा बिर्तामोड ७ को न्यू स्टार क्लबलाई टाइब्रेकरमा जलथलले स्तब्ध बनाएको हो । निर्धारित समयमा दुवै टोलीले समान ३-३ गोलको बराबरी खेलेका थिए । निर्णय लिन रोजिएको टाइब्रेकरमा जलथलले ४-३ गोलअन्तरमा न्यू स्टारलाई रोक्दै उपाधि रक्षा गरेको हो । खेल सुरु भएको ८ मिनेटमै मिलन राईले जलथल एफसीका लागि गोल गरेका थिए । यस्तै, १०औँ मिनेटमा आशिष चापागाईले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको २५औँ मिनेटमा न्यू स्टारका रोमन भुजेलले गोल गरेर गोलअन्तर घटाएका थिए । यसैगरी, जलथल एफसीकै खमिर गिल्सन कन्दङ्वाले दोस्रो हाफको ६ मिनेटमा गोल गर्दै ३-१ गोलको फराकिलो अन्तर निकाले । तर, दोस्रो हाफकै १५औँ मिनेटमा न्यू स्टारका सोना लिम्बूले गोल गर्दै कमब्याक गराउने कोशिष गरे । यसैबीच, खेलको अन्त्यतिर पाएको पेनाल्टीमा रोमनले नै गोल गरेर खेललाई बराबरीमा ल्याइपुराए ।

टाइब्रेकरमा जलथल ४-३ गोलअन्तरमा भाग्यमानी बन्यो । खेलको म्यान अफ दी म्याच र उत्कृष्ट गोलकिपर जलथलका समिर लिम्बू बने, बेस्ट कोच राजन श्रेष्ठ, बेस्ट फरवार्ड आशिष चापागाई, बेस्ट मिडफिल्डर रोमन भुजेल, बेस्ट डिफेन्स सनम राई, हाइस्कोरर खमिर गिल्सन कन्दङ्वा बन्दा प्रतियोगिताकै बेस्ट प्लेयर जलथलका सन्देश भुजेल भए ।

विधागत पुरस्कारतर्फ जनही २ हजार ५ सय र बेस्ट प्लेयरलाई आयोजकले नगद ३ हजार ५ सय प्रदान गरेको थियो । विजेताले नगद ३१ हजार र उपविजेताले २१ हजारसहित ट्रफी पायो ।१० टिम सहभागी प्रतियोगिता हल्दिबारी ३ को ढडुवा एफसीले आयोजना गरेको हो ।

Post Comments