News तेस्रो रुपन्देही कप शुरु
सुरज राना मगर

बुटवल । फुटबलसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको युवाहरुको समूह फुलबारी गाईज, बुटवलको आयोजनामा तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–१७ रानीगञ्ज स्थित स्थानीय खेलमैदानमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा आयोजक फुलबारी गाईज (निलो) ले जनज्योति क्लबमाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्यो । खेलमा फुलबारीका सुवास परियार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा न्यु इरा युथ क्लबले हरिहरपुर एफसीमाथि समान १–० को जित निकाल्यो । खेलमा न्यु इराका कप्तान सिजन दगामी म्यान अफ द म्याच चुनिए । शनिबार जित हात पारेका दुवै टोली प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्लबको सामाजिक उत्तरदायित्वका रुपमा यसपटक फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका उपाध्यक्ष अर्जुन गुरुङले जानकारी । त्यस्तै युवा खेलाडीहरुलाई अवसर, भाइचारा, एकता र स्वस्थ मनोरञ्जनका लागि पनि प्रतियोगिता आयोजना गरिएको क्लबका व्यवस्थापक सरोज दर्लामीले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम सिंजालीले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक सिंजालीले बताए ।

कुल ३१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असार २८ गतेका दिन हुने प्रचार प्रसार संयोजक सुशिल तामाङले जानकारी दिए ।

Post Comments