News झरना, नवयुवा र एमएफसी प्रिक्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । झरना स्पोर्टस क्लब, नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार र एमएफसी यहाँ जारी तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल–१८, रानीगञ्ज स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा झरना स्पोर्टस क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई शून्यका विरुद्ध १ गोलले हरायो । झरनाका लागि आशिष ज्ञवालीले एक मात्र निर्णायक गोल गरे । खेलमा झरनाका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा नवयुवा खेलकुदले मुर्गिया फुटबल क्लबलाई २–० ले हरायो । नवयुवाको जितमा बिशाल शाही र संगम सोमरेले गोल गरे । खेलको म्यान अफ द म्याच नवयुवा कै बिशाल शाही घोषित भए ।

दिनको अन्तिम खेलमा एमएफसीले रानीगञ्ज युवा क्लब (ए) लाई १–० ले हरायो । एमएफसीको जितमा रेशम चोहानले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने पराजित रानीगञ्जका पुरन सुनार घोषित भए ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगञ्ज युवा क्लबको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक यम सिंजालीले जानकारी दिए । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments