News दोश्रो वेगनास कपको तयारी अन्तिम चरणमा
गोलनेपाल

लेखनाथ । विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ महाशिवरात्रीको अवसरमा वेगनासताल किनारमा यहि फागुन ९ गते देखि १७ गतेसम्म हुने दोश्रो बेगनास सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक बेगनास युवा क्लवले बेगनासताल किनारमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको र केही कामहरु मात्र बाँकी रहेको क्लवका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए ।

युवालाई लगानी गरौं भन्ने सोच लाई मुर्त रुप दिनका लागि दोश्रो पटक वेगनास युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक सुवास थकालीले वताए ।

प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही रु ५÷५ हजार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

वेगनासताल वाँध नजिकैको मैदानमा हुने खेलमा करिव ३५ टिमको सहभागिता रहने अनुमान गरिएको टिम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न ७ लाख ५० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ भने प्रतियोगिताबाट हुने वचत रकमबाट खेल मैदान मर्मत, सरसफाई अभियान र क्लवका विभिन्न सामाजिक कार्यक्रमहरुमा खर्च गरिने अध्यक्ष रानाभाटले बताए ।

क्लवले विभिन्न प्राकृतिक विपत्ती एवं दैवी प्रकोपका समयमा राहत तथा उद्धारका कार्यहरु गर्दै आईरहेको छ भने साथै वृहत वेगनासताल सरसफाई अभियान पनि सफलताका साथ ८९ औं हप्ता सम्म सम्पन्न गरिसकेको छ ।

 

Post Comments