News इभोलुशन, नवशान्ती र चौधरी ब्रदर्शको जित
सुरज राना मगर

बुटवल । तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितामा इभोलुशन क्लब, नवशान्ती एफसी र चौधरी ब्रदर्शले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–१७ रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा इभोलुशनले जनशान्ती एफसीलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा इभोलुशनका नबिन छन्त्याल म्यान अफ द म्याच घोषित भए ।

दिनको दोस्रो खेलमा नवशान्तीले रोयल नयाँगाउँलाई टाईब्रेकरमै २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा नवशान्तीका गोलरक्षक सन्देश खनाल म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अन्तिम खेलमा चौधरी ब्रदर्शले सञ्जिवनी युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । चौधरी ब्रदर्शको जितमा अवतार थापाले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने चौधरी ब्रदर्शका कप्तान कृष्ण राना घोषित भए ।

फुटबल गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments