News शिवनगर, ब्रदर्श र प्रहरी तालिम केन्द्रको जित
सुरज राना मगर

बुटवल । तेस्रो रुपन्देही कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा बुधबार शिवनगर युथ क्लब, ब्रदर्श एफसी र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रले जित हात पारेका छन् ।

बुटवल–१७, रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा शिवनगरले सुनौलो संगम युथ क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा शिवनगरले ५–३ को जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलमा सुनौलो संगमका बिमल दर्लामी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा ब्रदर्श एफसीले फ्रेण्डसशिप युथ क्लबलाई ३–१ ले हरायो । ब्रदर्शको जितमा सुमित मल्लाह, बुद्धी पुन र हिमाल थापाले गोल गरे । खेलमा ब्रदर्शका सुमित मल्लाह म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी दिनको अन्तिम खेलमा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रले डिबीएफसीलाई २–० ले हरायो । प्रहरीका लागि शैलेन्द्र चौधरी र बिनोद शाहीले गोल गरे । खेलमा प्रहरीका शैलेन्द्र चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असार २१ गते बिहीबारदेखि प्रिक्वाटरफाइनल खेलहरु शुरु हुने खेल संयोजक यम सिंजालीले बताए । फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments