News डिएफसी यु–१३ जुनियर कपको सेमिफाइनलमा
गोलनेपाल

इटहरी । डिएफसी यहाँ जारी यु–१३ जुनियर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । डिभिएम स्कुलको खेलमैदामा भएको पहिलो क्वाटरफाइनलतर्फ डिएफसीले शान्तीनगर फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा डिएफसीले ५–४ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो । खेलमा पराजित शान्तीनगरका आदर्श केडी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै प्रतियोगिता अन्तरगत दुई प्रिक्वाटरफाइनल खेलहरु पनि सम्पन्न भए । जसअन्तरगत छैठौं प्रिक्वाटरफाइनलमा तालतलैया फुटबल क्लबले संकल्प फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा तालतलैयाका गोलरक्षक कृश अधिकारी म्यान अफ द म्याच घोषित भए ।

सातौं प्रिक्वाटरफाइनलतर्फ कोशी सेन्ट जेम्स डिसक्वालिफाई हुँदा इटहरी फुटबल क्लब स्वतः विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । सोमबार प्रतियोगिताका बाँकी तीन खेलहरु हुने आयोजकले जानकारी दियो ।

जुट विकास फुटबल एकेडेमी, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १२ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।

Post Comments