News तिलोत्तमा गोल्डकपको मिति सर्यो
सुरज राना मगर

बुटवल । पछिल्ला पाँच बर्षदेखि निरन्तर तोकिएकै मितिमा आयोजना हुँदै आएको रुपन्देहीको प्रतिष्ठित र मोफसल कै पुरानो मध्ये एक तिलोत्तमा गोल्डकपको २२औं संस्करणको मिति सरेको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिता यसअघि यहि फागुन ८ देखि १८ गतेसम्म प्रतियोगिता गर्ने भनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

स्मरण रहोस, फागुन ८ गतेबाट गर्ने भनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी गरेको प्रतियोगिताको तालिकामै उल्लेख गरिएको थियो । यद्यपि देशैभर भइरहेको प्रतियोगिताहरु (गोल्डकप) का कारण टिमहरुको सहभागिता अनिश्चित हुनुका साथै आन्तरिक रुपमा केही प्राविधिक तयारीहरु पनि पूरा नभएको भन्दै आयोजकले मिति सारेको जनाएको छ ।

२२औं तिलोत्तमा गोल्डकपको प्रचार प्रसार समिति संयोजक सुरज थापाका अनुसार अब प्रतियोगिता आउँदो चैत्र १ गतेदेखि १० गतेसम्म हुने बताए । साथै प्रतियोगितामा १ विदेशी सहित नेपालका शिर्ष टोलीहरु गरेर कुल १० टोलीहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत संयोजक थापाले बताए ।

उता एन्फा टेक्निकल सेन्टर बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङले पनि प्रतियोगिताको मिति सर्दा मैदान मिलाउन थप समय पुग्ने बताए । निर्देशक गुरुङले हाल मैदान मिलाउने कार्य भईरहेको भन्दै त्यसका लागि पानी हाल्ने, माटो सम्याउने, कम्पाउण्ड मिलाउने कार्यहरु पनि भईरहेको बताए ।

स्मरण रहोस, यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख ५१ हजार हात पार्नेछ । प्रतियोगिताको २१औं संस्करणको उपाधि दाफिन्स एफसी, क्यामरुनले जितेको थियो ।

Post Comments