News ब्राईट फ्युचर, मेहर गण, हिल्ली फिडर, चाम्बास, सिद्ध फुगा र अल स्टारको जित
सुरज राना मगर

भन्सार । यहाँ जारी १६औं भानु कप खुला नकआउट फुटबल प्रतियोगितातर्फ आइतबार ६ खेलहरु सम्पन्न भएका छन् । जसअन्तरगत ब्राईट फ्युचर क्लब, श्री मेहर गण, हिल्ली फिडर, चाम्बास युवा क्लब, सिद्ध गुफा युवा क्लब र अल स्टार युवा क्लबले जित हात पारेका छन् ।

भानु रंगशालामा भएको पहिलो खेलमा ब्राईट फ्युचरले आयोजक भन्सार युवा परियार (ए) लाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा ब्राईट फ्युचरका गोलरक्षक मनिष सुनार म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा श्री मेहर गणले सामना युवा क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा मेहर गणका रामशरण चौधरी म्यान अफ द म्याच चुनिए ।

तेस्रो खेलमा हिल्ली फिडरले न्यु बुद्ध युवा क्लबलाई २–० ले हरायो । खेलमा हिल्ली फिडरका गोलरक्षक सुबास भगराती म्यान अफ द म्याच घोषित भए । चौथो खेलमा चाम्बासले खडगमाई बन्दीपुरलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्यो । सो खेलमा चाम्बासका गोलरक्षक अनिश तामाङ म्यान अफ द म्याच चुनिए ।

पाँचौं खेलमा सिद्ध गुफाले नेपाल भानु युनाइटेडलाई १–० ले निराश तुल्यायो । खेलमा पराजित नेपाल भानु युनाइटेडका गोलरक्षक मनिष तामाङ म्यान अफ द म्याच घोषित भए । त्यस्तै दिनको अन्तिम खेलमा अल स्टारले व्यास–११ लाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा अल स्टारका मनिक श्रेष्ठ म्यान अफ द म्याच चुनिए । 

भन्सार युवा परिवार, भिमसेन युवा क्लब र सालसिस्ने युवा क्लब, भन्सार–१ तनहुँको संयुक्त आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२५,२१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,१२,२१० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्दिप श्रेष्ठले जानकारी दिए । फाइनल खेल साउन ६ गतेका दिन हुनेछ ।

Post Comments