News यु–१६ लिग नखेल्ने एनआरटीको निर्णय
गोलनेपाल

काठमाडौं । जारी यु–१६ ए डिभिजन लिगमा बढी उमेरका खेलाडीहरु खेलाएको भन्दै कारवाहीमा परेपछि न्युरोडटिम (एनआरटी) सम्बन्धित निकायले निष्पक्ष छानविन र सही निर्णय नगर्दासम्म लिग नखेल्ने घोषणा गरेको छ ।

स्मरण रहोस, लिगको पहिलो चरणको खेलतर्फ असार ३० गते सल्लाघारी, भक्तपुरमा भएको एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा एनआरटीले आर्मीमाथि ५–१ को जित निकालेको थियो ।

यद्यपि त्यो खेलपश्चात आर्मी भने असन्तुष्ट देखियो । आर्मीले एनआरटीले बढी उमेरका खेलाडी खेलाएको भन्दै उजुरी दिएको थियो । उजुरीका आधारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनआरटीलाई कारवाही गर्दै सो खेलमा आर्मीलाई ३–० विजयी भएको घोषणा गरेको थियो ।

तर एनआरटीले भने निष्पक्ष र सही छानबिन नगरी आर्मीको पक्षमा निर्णय भएको भन्दै विरोध जनाएको छ । यो निर्णयले क्लबका सबै युवा खेलाडीहरुलाई पनि मानसिक रुपमा नकरात्मक असर पुगेको र यसले खेल भावना मै ठेस पुगेको एनआरटीको ठहर छ ।

साथै एनआरटीले लिग शुरु हुनु अघि नै सबै प्रक्रिया पुर्याएर टिम दर्ता गरेको दावी गरेको छ । टिम दर्ता गर्दा कुनै समस्या नदेखिएको तर अहिले आएर सम्बन्धित निकायले एकपक्षीय निर्णय लिएको बन्दै असन्तुष्टी जनाएको छ ।

एनआरटीले वक्तव्य जारी गर्दै यस विषयमा सही छानविन र निर्णय नहुँदासम्म यु–१६ लिग नखेल्ने स्पष्ट पारेको छ । यद्यपि क्लबको नियमित प्रशिक्षणलाई भने निरन्तरता दिने पनि एनआरटीले वक्तव्यमा उल्लेख गरेको छ ।

प्रतियोगिता अन्तरगत दोस्रो चरणतर्फ आज एनआरटीले एफसी खुमलटारसँग च्यासल स्टेडियममा खेल्ने कार्यक्रम थियो ।

Post Comments