News मियामीमा मेसीको सुखद 'डेब्यु'
गोलनेपाल

काठमाडौं (एजेन्सी) । केही दिन अघि मात्रै इन्टर मियामीमा आधिकारिक रुपमा आवद्ध भएका अर्जेन्टिनी स्टार लियोनल मेसीले अमेरिकी क्लबका लागि सुखद डेब्यु गरेका छन् । अमेरिका र मेक्सिकोको शिर्ष लिग खेल्ने टोलीहरुबीच वार्षिक रुपमा आयोजना हुने लिग्स कपमा ३६ वर्षिय मेसीले सुखद डेब्यु गरेका हुन् ।

समूह चरणतफै आफ्नो पहिलो खेलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुल विरुद्ध २–१ को जित निकाल्ने क्रममा मेसी निर्णायक बने । खेलको ४४औं मिनटमा रोबर्ट टेलरको गोलबाट मियामीले खेलमा अग्रता बनाएको थियो । तर ६५औं मिनटमा यरिल अन्टुनाले क्रुजका लागि बराबरी गोल फर्काएका थिए ।

खेल बराबरीतर्फ नै लम्किरहेका बेला वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको मेसीले अन्तिमतिर इन्जुरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै मियामीलाई रोमाञ्चक जित दिलाउनुका साथै अमेरिकी क्लबमा आफ्नो सुखद डेब्यु गर्न पनि सफल भए ।

मियामीले समूह चरणको दोस्रो खेल घरेलु प्रतिद्वन्द्वी एटलान्टा युनाइटेडसँग खेल्नेछ । समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments