News माल्दिभ्सको प्राविधिक निर्देशकमा पाउल
गोलनेपाल

काठमाडौं । माल्दिभ्स फुटबल फेडरेशनले पूर्व इङलिस फुटबलर तथा अनुभवी पाउल स्मलीलाई आफ्नो नयाँ प्राविधिक निर्देशकमा नियुक्त गरेको छ । माल्दिभ्स एफएले पाउलको नियुक्तीबारे आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत पुष्टी समेत गरेको छ ।

खेलाडीका रुपमा सक्रिय व्यवसायीक फुटबलबाट सन्यास लिएपछि पाउलले इङल्याण्डसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, अमेरिका जस्ता देशहरुमा पनि प्राविधिक निर्देशक र युथ निर्देशकका रुपमा रहेर काम गरेको अनुभव सँगालेका छन् । त्यसवाहेक उनले ब्रुनेईको राष्ट्रिय फुटबल टोली र बंगलादेशको यु–२० टोलीको प्रशिक्षकीय जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

प्राविधिक निर्देशक बाहेक फुटबल म्यानेजर र अन्य पदमा रहेर पनि फुटबलमा राम्रो अनुभव संगालेका ५६ वर्षिय पाउलको आगमनले फुटबलमा माल्दिभ्सको प्राविधिक पक्ष थप बलियो र उत्कृष्ट हुने विश्वास माल्दिभ्स फुटबल फेडरेशनले लिएको छ ।

स्मरण रहोस, माल्दिभ्सको राष्ट्रिय फुटबल टोली हाल आगामी सन् २०२६ को फिफा विश्वकप छनौट खेल्ने तयारीमा छ । दक्षिण एसियाका नेपाल, भुटान र बंगलादेश पनि छनौट प्रतियोगितामा सहभागिता जनाउँदै छन् । छनौट प्रतियोगिताको प्रारम्भिक चरणको फाइनल ड्र यही जुलाई २७ तारीखका दिन निकालिने पनि एएफसीले यसअघि नै घोषणा गरिसकेको छ ।

Post Comments