News देवदह, डिएस र मदन भण्डारी स्पोर्टस एकेडेमीको जित
सुरज राना मगर

तिलोत्तमा । देवदह ब्वाईज, डिएस युनाइटेड र मदन भण्डारी स्पोर्टस एकेडेमी यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा देवदहले इभोलुशन क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । देवदहका लागि कप्तान नर बहादुर थापाले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता देवदहका नर बहादुर थापा नै म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा डिएस युनाइटेडले दिपज्योति क्लबलाई टाईब्रेकरमा २–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ डिएसका लागि बिकास थापाले गोल गरे भने दिपज्योतिका लागि टेक बहादुर थापाले गोल गरेका थिए । खेलमा डिएसका गोलरक्षक मनोज लामिछाने म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमीले आक्रमण एफसीलाई २–० ले हरायो । मदन भण्डारीको जितमा आशिष राना र आयुष गुरुङले गोल गरे । खेलमा मदन भण्डारी स्पोर्टस एकेडेमीका आयुष गुरुङ म्यान अफ द म्याच घोषित भए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

 

Post Comments