News पंचायन तेस्रो मनसुन कपको फाइनलमा
गोलनेपाल

इटहरी । पंचायन फुटबल क्लब, रामधुनी यहाँ जारी तेस्रो मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा पंचायनले युनाइटेड क्लब अफ तरहरालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

बुढासुब्बा खेलमैदानमा भएको खेलमा निर्धारित समयतर्फ पंचायनका लागि अमर श्रेष्ठ र युनाइटेड क्लबका लागि प्रशान्त लिम्बुले गोल गरेका थिए । टाईब्रेकरमा पंचायनले युनाइटेड क्लबलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो ।

खेलमा पंचायनका गोलरक्षक अभिषेक खड्का म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत साउन ८ गते सोमबारको दोस्रो सेमिफाइनल खेल आयोजक शान्तिनगर फुटबल क्लब (बी) र चितलाङ्ग फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

शान्तिनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही साउन ११ गतेका दिन हुनेछ ।

Post Comments