News जापान र स्पेन नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पूर्व विजेता जापान र स्पेन जारी फिफा महिला विश्वकपको नकआउट चरणमा पुग्ने शुरुवाती दुई टोलीहरु बनेका छन् । समूह सी मा लगातार दुई जित हात पार्दै जापान र स्पेनले नकआउट चरणको यात्रा एक खेल अघि नै पक्का गरेका हुन् ।

न्युजिल्याण्डको डुनेडिन शहरमा भएको समूह चरणको दोस्रो खेलमा जापानले कोस्टारिकालाई २–० ले हरायो भने अकल्याण्डमा भएको खेलमा स्पेनले जाम्बियामाथि ५–० को जित निकाल्यो । जापानले पनि आफ्नो पहिलो खेलमा जाम्बियालाई समान ५–० ले हराएको थियो भने स्पेनले कोस्टारिकामाथि ३–० को जित निकालेको थियो ।

यो नतिजापछि समान ६–६ अंक जोडेका स्पेन र जापान गोल भिन्नताका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेका छन् । त्यस्तै अंकविहीन कोस्टारिका र जाम्बिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेर एक खेल अघि नै समूह चरणबाटै बाहिरिएका छन् ।

समूह सी तर्फको अन्तिम दुई खेलहरुमा ३१ जुलाईका दिन जापान र स्पेन भिड्ने छन् भने कोस्टारिकाले जाम्बियाको सामना गर्नेछ । साथै ३१ जुलाई कै दिन समूह सी को समूह विजेता र उपविजेताको पनि टुंगो लाग्नेछ ।

त्यस्तै समूह बी तर्फको एक मात्र खेलमा क्यानडाले पहिलो जित हात पार्यो । आफ्नो पहिलो खेलमा नाइजेरियासँग गोलरहित बराबरीमा रोकिएको क्यानडाले बुधबार आयरल्याण्डलाई २–१ ले हरायो र महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

क्यानडाले समूह चरणको अन्तिम खेलमा ३१ जुलाईका दिन आयोजक अष्ट्रेलियाको सामना गर्नेछ भने सोही दिन आयरल्याण्डले नाइजेरियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ ।

Post Comments