News निर्णयको पर्खाईमा एनआरटी, तनावमा खेलाडी
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी अन्डर–१६ लिग फुटबल प्रतियोगिताको पहिलो चरणको चौथो खेलतर्फ सैनिक स्कुलको मैदानमा भएको खेलमा न्युरोडटिम (एनआरटी)ले बिभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्यो ।

अप्रत्याशित र फराकिलो हार ब्यहोरेको आर्मीले एनआरटीको बेन्चमा रहेका एक खेलाडी बढी उमेरको भएको भन्दै उजुरी गर्यो । ती खेलाडी दोस्रो हाफमा मैदान प्रबेश गरेका थिए । उनलाई एन्फाले एमआरआर्ई गरायो र बढि उमेरको भन्दै एन्फाले कारवाही स्वरुप त्यो नतिजा ३–० ले आर्मीको पक्षमा दियो भने एनआरटीको ३ तीन अंक पनि गुमेको भन्दै क्लबलाई पत्राचार गरियो ।

त्यस पश्चात एनआरटीले आफ्नो फेसबुक पेजमार्फत लिगको बाँकी खेलहरुमा सहभागी नहुने भनेर आफ्नो निर्णय सार्वजनिक गर्यो र त्यो निर्णय सच्याउन एन्फालाई अपिल समेत गर्यो । क्लब दोस्रो खेलमा पनि सहभागी भएन, एनआरटीसँगै मनाङ, फ्रेण्डस र संकटाले पनि अबको खेलमा सहभागी नहुने भने पनि संकटा भने आफ्नो दोस्रो खेल खेलेर मोरक्को उडने तयारीमा थियो ।

तर मनाङ, फ्रेण्डस र एनआरटी दोस्रो खेलमा मैदान उपस्थित नभए पछि एन्फाले १० वटै क्लबलाई साउन ९ गते बैठकमा बोलायो । बैठकमा संकटा, फेण्डस र मनाङले प्रतियोगितामा सहभागिता जनाउन सहमत भए तर एनआरटी उपस्थित भएन । एनआरटी अहिले निर्णयको पर्खाईमा छ । तर उता खेलाडीहरु भने खेल खेल्न पाईने कि नपाईने तनावमा छन ।

एन्फाले क्लब र खेलाडीलाई घात गर्योः एनआरटी अध्यक्ष जोशी

एन्फाको यो निर्णयप्रति एनआरटी अध्यक्ष सुन्दर नरसिंह जोशी भने आक्रोशित देखिए । जोशी भन्छन्, ‘एन्फाले कुनै छानबिन नगरी सोझै एमआरआई गराएर निर्णय उल्टाएको हामीलाई चित्न बुझेन, कि सुरुमै एमआरआई गराएर खेलाउनु पथ्र्यो ।’

तर एन्फाले त्यसो नगरेको उनी बताउँछन् । जोशी अगाडी भन्छन्, ‘सुरुमा जन्मदर्ताले हुन्छ भन्ने पछी हामीले जन्मदर्ताको आधारमा देशभरबाट खेलाडी छनौट गरेर टिम बनाएको हो । जन्मदर्ता र डकुमेन्ट नबुझी एमआरआई गराएर निर्णय उल्टाउनु गलत थियो । र एमआरआईबाट पनि शतप्रतिशत नतिजा नआउने हुँदा डकुमेन्ट भेरिफीकेशनमा जानुपर्नेमा एमआरआइको रिपोर्टको आधारमा एन्फाले क्लब र खेलाडीलाई ठुलो घात गर्यो ।’ जोशीका अनुसार अब एन्फाको अपिल कमिटिको निर्णय आएपछि मात्र खेल्ने नखेल्ने बारेमा क्लबले निर्णय लिने बताए ।

उता एन्फा महासचिव किरन राईले भने एनआरटीको अपिलको बिषयमा एन्फाले चाडै नै निर्णय लिने बताए । महासचिव राई भन्छन्, ‘चित्त नबुझेको कुरा अपिल गर्न पाईन्छ । त्यसैले हामीले विस्तृत छानबिन गरिराखेका छौ र जति सक्दो चाडो निर्णय सुनाउछौ ।’

खेल्ने आशमा निरास खेलाडीहरु

त्यस्तै क्लबको निर्णयपछि खेलाडीहरु भने अझै पनि लिग खेल्ने आशमा छन् र निराश पनि छन् । नाम नखुलाउने शर्तमा एक खेलाडी भन्छन्, ‘बल्लबल्ल एउटा राम्रो युथ लेभलको प्रतियोगिता भएको थियो । ठुलो सपना बोकेर युथ–१६ लिग खेल्न आयौ, खेल पनि राम्रै खेलको थियौ, रिजल्ट पनि राम्रो आएको हो तर यो विवादले सम्पुर्ण खेलाडी साथीहरु तनावमा छन ।’

खेल्न नपाउँदा धेरैजसो खेलाडीहरु मानसिक तनावमा रहेको अर्का खेलाडी बताउँछन् । उनी भन्छन्, ‘खेल्न पाइने हो कि होइन भनेर रातभरी निन्द्रा लाग्दैन । यो प्रतियोगिताबाट साफको लागी युथ–१६ राष्ट्रिय टोलीको छनौट हुन्छ भन्छन राष्ट्रिय टिमबाट खेल्ने सपना छ तर केही साथीहरु प्रदेश छनौट खेलीसके हाम्रो भने ठेगान भएन ।’

अन्य क्लबका खेलाडी साथीहरुले लिग खेलिरहेकोमा आफूहरुले एक खेलपछि खेल्न नपाउँदा नमज्जा लागेको उनीहरुको भनाई छ । साथै खेलाडीहरुले आफूहरु सही निर्णयको पर्खाईमा रहेको पनि बताए । एन्फाको सकरात्मक निर्णयपछि आफूहरु छिटै मैदानमा फर्किने विश्वास पनि खेलाडीहरुले राखेका छन् ।

Post Comments