News स्वीडेनको सनसनी, ब्राजील निराश
गोलनेपाल

काठमाडौं । फिफा महिला विश्वकपतर्फ अप्रत्याशीत नतिजा निस्किने क्रममा समूह जी तर्फ स्वीडेनले बलियो इटालीमाथि ५–० को प्रभावशाली जित निकालेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हराएको स्वीडेनले इटाली विरुद्ध थप हावी देखियो ।

स्वीडेनका लागि ३९औं मिनटमा आमन्दा लेस्टेडले पहिलो गोल गरिन् । ४४औं मिनटमा प्रिडोलिना रोल्फोले त्यो अग्रता दोब्बर पारिन् । पहिलो हाफ मै हावी देखिएको स्वीडेनका लागि ४५+१औं मिनटमा एम्मा स्टिनाले तेस्रो गोल थपिन् । स्वीडेनले पहिलो हाफ मै ३–० को बलियो अग्रता कायम गर्यो ।

त्यस्तै दोस्रो हाफको ५०औं मिनटमा आमन्दा लेस्टेडले नै व्यक्तिगत दोस्रो तथा स्वीडेनका लागि चौथो गोल गर्दा खेलको अन्तिमतिर रेबेका मारियाले पाँचौं गोल थप्दै स्वीडीस टोलीको शानदार जित पक्का गरेकी थिईन् ।

लगातार दुई जित हात पारेको स्वीडेनले ६ अंक जोड्दै नकआउट प्रवेको यात्रा पक्का गरेको छ । र समूह चरणको अन्तिम खेलमा स्वीडेनले २ अगस्तका दिन अर्जेन्टिनाको सामना गर्नेछ । त्यस्तै ३ अंक जोडेको इटाली दोस्रो स्थानमा छ र समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा अगस्त २ तारीख कै दिन दक्षिण अफ्रिकासँग खेल्नेछ । १–१ अंक जोडेका दक्षिण अफ्रिका र अर्जेन्टिनाको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ ।

ब्राजील स्तब्ध

त्यसैगरी समूह एफतर्फ पहिलो खेलमा पनामामाथि ४–० को उत्कृष्ट जित हात पारेको ब्राजीलले आफ्नो दोस्रो खेलमा अर्को दावेदार टोली फ्रान्ससँग २–१ ले पराजित भएको छ । खेलको १७औं मिनटमा एन्नी ले सोमरको गोलबाट फ्रान्सले खेलमा अग्रता बनाएको थियो ।

तर दोस्रो हाफको ५८औं मिनटमा डेबिन्हाले ब्राजीलका लागि फर्काएकी थिईन् । खेल बराबरीतर्फ लम्किरहेका बेला ८३औं मिनटमा वेन्डी रेनार्डले दोस्रो र निर्णायक गोल गर्दै फ्रान्सको रोमाञ्चक जित पक्का गरेकी थिईन् ।

समूह एफ कै अर्को खोलमा जमैकाले पनामालाई १–० ले हरायो । यो नतिजापछि समान ४–४ अंक जोडेका फ्रान्स र जमैका क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको ब्राजील तेस्रो स्थानमा रहँदा अंकविहीन पनामा पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा २ अगस्तका दिन पनामाले फ्रान्ससँग खेल्दा सोही दिन जमैका र ब्राजील बीच निर्णायक भिडन्त पनि हुनेछ ।

Post Comments