News अष्ट्रेलियाको सनसनी, क्यानडा ‘नकआउट’
गोलनेपाल

काठमाडौं । जारी फिफा महिला विश्वकपतर्फ समूह बी बाट सह–आयोजक अष्ट्रेलिया र नाइजेरिया क्रमशः समूह विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । सोमबार मेलबर्नमा भएको निर्णायक खेलमा अष्ट्रेलियाले तुलनात्मक रुपमा बलियो आँकिएको क्यानडामाथि ४–० को प्रभावशाली जित निकाल्यो ।

सो खेलमा अष्ट्रेलियालाई जित्नैपर्ने दबाब थियो भने क्यानडालाई बराबरी गरे पनि पर्याप्त हुने थियो । तर निर्णायक मानिएको खेलमा घरेलु टोली सामू क्यानडा निरीह देखियो । त्यस्तै सोमबार नै ब्रिसबेनमा भएको समूह बी तर्फको अर्को खेलमा नाइजेरिया र आयरल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सोमबारको नतिजापछि ३ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा रहँदै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । ५ अंक जोडेको नाइजेरिया दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।

४ अंक जोडेको क्यानडा भने तेस्रो स्थानमा रहेर दुर्भाग्यपुर्ण रुपमा समूह चरणबाटै बाहिरियो । त्यस्तै १ अंक जोडेको आयरल्याण्ड भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

Post Comments