News इङल्याण्ड, डेनमार्क, नेदरल्याण्डस र अमेरिका नकआउट चरणमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दावेदार इङल्याण्ड, डेनमार्क, नेदरल्याण्ड र साविक विजेता अमेरिका जारी फिफा महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् । इङल्याण्ड, डेनमार्क समूह डी बाट र नेदरल्याण्ड, अमेरिका समूह ई बाट नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह चरणको अन्तिम खेलतर्फ मंगलबार एडिलेडमा सम्पन्न खेलमा इङल्याण्डले चीनमाथि ६–१ को सहज जित निकाल्यो । सोही समुहको पर्थमा भएको अर्को खेलतर्फ डेनमार्कले हाइटीमाथि २–० को जित दर्ता गर्यो ।

यो नतिजापछि शतप्रतिशत जित हात पारेको इङल्याण्ड ३ खेलबाट ९ अंकका साथ समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । त्यस्तै ६ अंक जोडेको डेनमार्क समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । त्यसैगरी ३ अंक जोडेको चीन र अंकविहीन हाइटी क्रमशः तेस्रो र चौथो स्थानमा रहेर समूह चरणबाटै बाहिरिए ।

उता समूह ई तर्फ न्युजिल्याण्डको डुनेडिनमा भएको समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसले भियतनामलाई ७–० ले हरायो भने अकल्याण्डमा भएको खेलमा अमेरिका र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

यो नतिजापछि ३ खेलबाट ७ अंक जोडेको नेदरल्याण्डस समूह ई को विजेता बन्यो भने ५ अंक जोडेको अमेरिका समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्न सफल भए । उता अन्तिम खेलमा दुर्भाग्यपुर्ण रुपमा बराबरी खेलेको पोर्चुगल ४ अंक र भियतनाम अंकविहीन रुपमा क्रमशः समूहको तेस्रो र चौथो स्थानमा रहेर समुह चरणबाटै बाहिरिए ।

Post Comments