News दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल हुने
गोलनेपाल

पोखरा । फुटबल क्षेत्रमा क्रियाशिल गार्डेन युवा क्लब पोखराको आयोजनामा दोस्रो संस्करणको गार्डेन कप फुटबल प्रतियोगिता हुने भएको छ । यहि फागुन १२ देखि प्रतियोगिता फागुन १७ गते सम्म संचालन हुने प्रतियोगिता मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र गोलरक्षकले समान ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विनोद गुरुङले प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगिता संचालन गर्न करिब ७ लाख रुपैयाँ खर्च लाग्ने र प्रतियोगिताबाट ३ लाख बचत हुने अनुमान गरिएको समेत अध्यक्ष गुरुङले बताए ।

“हाम्रो योजना एन्फा नियम अनुसार नै खेलाउने हो तर मैदार र आर्थिक अभावको कारण अहिले सेभेन ए साइड गर्न लागेका हौँ, आगामी वर्षबाट एन्फा नियम अनुसार नै खेलाउने छौ“ अध्यक्ष गुरुङले भने ।

सोहि अवसरमा बोल्दै नेपाल सेभेन ए साइड महासंघका अध्यक्ष नविन पुनले पछिल्लो समय पोखरामा सेभेन ए साइडको विकास निकै भएको स्मरण गर्दै पोखराको फुटबल विकासमा सेभेन ए साइड मुख्य खुड्किलो रहेको बताए ।

 

Post Comments