News सताक्षी गोल्डकपः फेरि आर्मी र मच्छिन्द्र
गोलनेपाल

झापा । यसै बर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको निर्णायक भिडन्तमा मच्छिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै पहिलोपटक ऐतिहासिक लिग उपाधि जितेको धेरै भएको छैन ।

त्यो खेलमा आर्मीले आत्मघाती गोलबाट दुर्भाग्यपुर्ण रुपमा १–० को हार बेहोरेको थियो । र, ऐतिहासिक सफलता हासिल गर्नबाट चुकेको थियो । यद्यपि त्यो नमिठो हारको सामना गरेको महिना दिन पनि बित्न नपाउँदै यी दुई टोली फेरि आमने सामने हुँदैछन् ।

झापाको झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकपको दोस्रो सेमिफाइनलमा आज यी दुई टोली भिड्दै छन् । सेमिफाइनल प्रवेश गर्ने क्रममा आर्मीले मानेभञ्ज्याङ एफसी, दार्जिलिङलाई हराएको थियो भने मच्छिन्द्रले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई पराजित गरेको थियो ।

यी दुवैका लागि आजको यो भिडन्त फेरि पनि प्रतिष्ठा र उपाधिको लडाई सरह नै हुने निश्चित छ । त्यसमाथि आर्मीलाई लिगमा बेहोरेको त्यो नमिठो हारको बदला लिने अवसर पनि छ । उता मच्छिन्द्रलाई भने लिगमा आत्मघाती गोलका रुपमा मात्र नभएर प्रतिस्पर्धात्मक भिडन्तमा पनि आर्मीलाई हराउन सक्ने क्षमता रहेको कुरा प्रमाणित गर्नुपर्ने चुनौति र अवसर पनि छ ।

स्मरण रहोस, प्रतियोगिताको फाइनलमा थ्रीस्टार क्लबले यसअघि नै स्थान सुरक्षित गरिसकेको छ । सताक्षीधाम स्पोर्टिङ क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

Post Comments