News देवदह र बेलबास सेमिफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । देवदह ब्वाईज र बेलबास एफसी जारी दोस्रो चपरहट्टी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा देवदहले मदन भण्डारी स्पोर्टस क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ देवदहका लागि कप्तान नर बहादुर थापा र सुरज सुनारले गोल गरे भने मदन भण्डारी स्पोर्टस एकेडेमीका लागि आयुष गुरुङ र अनिल क्षेत्रीले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा देवदह ब्वाईजले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा देवदहका गोलरक्षक बिष्णु पल्ली म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा बेलबासले आयोजक चपरहट्टी फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । बेलबासको जितमा अजित गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच पनि चुनिए ।

प्रतियोगिता अन्तरगत साउन १८ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल आहना एफसी र सिद्धार्थ क्लबबीच ३ बजेदेखि शुरु हुनेछ भने चौथो क्वाटरफाइनलमा एनबिए र लुम्बिनी तिलोत्तमा ४ बजेदेखि भिड्ने खेल संयोजक देव गुरुङले जानकारी दियो ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष हिमाल सारुले बताए । फाइनल खेल यही साउन २१ गतेका दिन हुनेछ ।

 

 

Post Comments