News मकवानपुरका यु–१९ खेलाडीहरुको विदाई
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्लाबाट प्रदेशस्तरीय छनौट कार्यक्रममा पर्न सफल भएका जिल्लाका यु–१९ खेलाडीहरुलाई शनिबार विदाई गरिएको छ । युवा खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर जिल्ला फुटबल संघले एक कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा विदाई गरेको हो ।

युवा खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, बागमती प्रदेश फुटबल संघका महासचिव लभराज ठकुरी, मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष अजय मानन्धर, महासचिव छबी सुवेदी तथा कोषाध्यक्ष अमृत लुङ्बा लगायतका पदाधिकारीहरुले शुभकामनासहित विदाई गरेका थिए ।

यही साउन २१ गते आइतबारदेखि एन्फा कम्प्लेक्समा शुरु हुन गईरहेको बागमती प्रदेशस्तरीय यु–१९ कार्यक्रमका लागि मकवानपुर जिल्लाबाट ३५ खेलाडीहरु सहभागि हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एनफा) ले नेपाल मै हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपका लागि राष्ट्रिय टोली तयार पार्न देशव्यापी खुला छनौट कार्यक्रम गर्न निर्देशन दिएको थियो । सोही बमोजिम हाल नेपालभरि यु–१९ खेलाडी छनौट कार्यक्रम जारी छ ।

 

Post Comments